भैरहवाको राम्रो सुरुवात, बिराटनगरलाई ३ विकेटले हरायो

क्षेत्र न. ४ भैरहवाको लागि पेप्सी एकदिवसीय प्रतिगोयिताको पहिलो प्रतिस्पर्धा सुखद रह्यो | भैरहवाले क्षेत्र न. १ बिराटनगरमाथि ३ विकेटको संघर्षपूर्ण जीत हात पार्न सफल भयो | 

वर्षाले प्रभावित खेललाई छोट्याएर ४२ ओभरको बनाइएको थियो | टस जितेर पहिला ब्याटिंग रोजेको बिराटनगरले ३७.५ ओभरमै आफ्ना सबै खेलाडी गुमाउदै १६५ रनको योगफल तयार पारे | प्रारम्भिक ब्याट्सम्यान सुनिल बिष्ट र सादाब अख्तर दुवैजना ९ रनको व्यक्तिगत स्कोरमै पवेलियन फर्किए | तर सोमेश यादव र अजय राजवंशीले उत्कृष्ट ब्याटिंगको नमूना प्रस्तुत गर्दै टिमलाई अघि बढाउन ठूलो योगदान दिए | ७८ रनको पार्टनरशिपमा सोमेशले ८१ रन (१०३ बल) र अजयले ३७ रन (४१ बल) को व्यक्तिगत पाली खेले | यो जोडी टुट्नु बिराटनगरको लागि धेरै घातक रह्यो, किनकि त्यसपछि कुनै पनि ब्याट्सम्यानले विकेटमा टाइम बिताउन सकेन | ५ ब्याट्सम्यान हाँस (Duck) भएर फर्किए | भैरहवाको लागि अमित श्रेष्ठले २ ओभरमा २ रनमात्रै दिएर ३ विकेट लिए | अन्तिम थापा (२), लाल बहादुर कार्की (२) र बलबहादुर थापा (१) विकेट प्राप्त गर्ने अन्य बलरहरु हुन्|

ब्याटिंगमा चम्किए कृष्ण कार्की 


आजका खेलहरुको प्रथालाई कायम राख्दै भैरहवाका प्रारम्भिक ब्याट्सम्यानहरु पनि सस्तोमै पवेलियन फर्किए | ८ रनको टिम स्कोर पुग्दा नपुग्दै प्रितम गुरुङ र निर्मल थापा आउट भए भने अर्को ब्याट्सम्यान किरण पाण्डेलाई पनि संगै जान हतार भएको देखियो | त्यसपछि अमित श्रेष्ठ र अन्तिम थापाले अलराउन्ड प्रदशन गर्दै बनाएको ४९ रनको पार्टनरशिपले भैरहवालाई केहि हदसम्म बलियो अवस्थामा ल्याइछाड्यो | खेलको उत्कृष्ट प्रदशनचाँही कृष्ण कार्कीको  ५० बलमा प्रहार गरिएको ५९ रन रह्यो, जसमा उसले ५ चौका र ३ शक्तिशाली छक्का हानेका थिए | भैरहवाले यो खेल ३२.२ ओभरमा ७ विकेटको नोक्सानीमा १६६ रनको चुनौती पार गरेर जिते | बिराटनगरको लागि अमित दहक र अजय राजबंशीका २-२ विकेट महत्वपूर्ण रह्यो | अर्का बलर कुन्दन सिंहले पनि १ विकेट प्राप्त गर्न सफल भए |

आज भएको अर्को खेलको समाचार पढ्न अर्को पोष्ट पढ्नुस |




शक्तिशाली बिरगंज चकित, पोखराले खेल ४ विकेटले जित्यो

नव प्रवेशी पोखरा (क्षेत्र न. ८) ले बिरगंजविरुद्ध आफ्नो पहिलो खेल जितेको छ | त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको प्रतिस्पर्धामा पोखरेली ठिटाहरुले बिरगंज (क्षेत्र न. २) लाई ४ विकेटले पराजित गरेका छन् |  

५० ओभरको खेलमा बिरगंजका खेलाडीहरु २८.५ ओभरमै पोखराको अनुशासित बलिंगको अगाडि आत्मसमर्पण गर्न बाध्य भए | टस जितेर पहिला ब्याटिंग रोजेको बिरगंजले शुरुवात त राम्रो गरेको थियो | प्रारम्भिक ब्याट्सम्यानहरुबाट ३९ रनको सकारात्मक साझेधारी कप्तान साहब मोहम्मद हसिम अन्सारीको (१६ रन)  विकेटसंगै तोडियो | कप्तानसंग संगै अमित श्रेष्ठपनि लागे | सुरज प्रसाद कुर्मी (२० रन ) र संतोष शाहको जोडीले त्यसपछि टिमको लागि सबैभन्दा ठुलो साझेदारी (४१ रन ) जोडे | यो प्रयासलाई सही बाटो अन्य ब्याट्सम्यानहरुले  दिन सकेनन् र पुरा टिम ११६ रनमै ढल्न पुगे | ३ खेलाडीले त आफ्नो खातापनि खोल्न सकेनन् भने ४ जनाले दुइ अङ्कको व्यक्तिगत स्कोर नपुग्दै बाई बाई गरे | पोखराको लागि प्रदीप रावतले उत्कृष्ट बलिंग गर्दै २० रनमा ३ विकेट लिए भने निश्चल पाण्डे र दीपेश खत्रीले २-२ विकेट हात पारे | शिव श्रेष्ठ र अमृत श्रेष्ठको झोलामा पनि १-१ विकेट पर्यो |

११७ रनको झिनो चुनौतीलाई पछ्याउन पोखरालाई पनि धौ धौ पर्यो | खराब शुरुवात भएपनि दिपेश खत्रीले बहादुरीपूर्ण बिरगंजका बलरहरुको सामना गर्दै टिमलाई २७.२ ओभरमा जित दिलाउन सफल भए | ४० बलको सामना गर्दै बनाएको ३० रनमा ३ चौका र १ छक्का प्रहार भएको थियो | नट आउट दिपेश खत्रीको राम्रो साथ पोखरेली कप्तान रिजन प्रजु (२७ रन ) ले दिए | बिरगंजका लागि स्पिनर विवेक दलीले ७.२ ओभरमा २१ रन दिंदै २ विकेट हात पारे भने कप्तान अन्सारी र जितेन्द्र मुखियाले १-१ विकेट लिए | 

आज भएको अर्को खेलको बारेमा पढ्न यहाँ क्लिक गर्नुस |




Nepal Police पनि क्रिकेटमा

नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई फूटबलको मैदानमा त धेरै चोटि देखेका थियौं, तर चाडैंनै क्रिकेटमा पनि देख्नेछौं | हुन त सशस्त्र प्रहरीले गएको वर्षनै आफ्नो टिम बनाएर केही घरेलु प्रतियोगिताहरुमा पनि भाग लिइसकेका हुन्, तर राष्ट्रिय प्रतियोगितामा भने पहिलो चोटी उत्रन्छन् | दुवै टिममा अन्तराष्ट्रिय स्तरमा ख्याति कमाइ सकेका खेलाडीहरु समावेश छन्, यस हिसाबमा विभागीय टिम क्षत्रिय टिमहरु भन्दा बलिया र खतरनाक देखिन्छन् | 

बिनोद कि पारस - कसलाई साथ दिनुहुन्छ ??

नेपाल प्रहरीले घोषणा गरेअनुसार टिमका १४ सदस्यहरु यस प्रकार छन्- बिनोद दास (कप्तान), मन्जित श्रेष्ठ, महेश क्षेत्री, नरेश बुढाएर, बिनोद भण्डारी, पुष्प थापा, राहुल बि.क., प्रदिप ऐरी, सन्नी पुन, भुवन कार्की, चन्द्र साउद, सुवास प्रधान, सन्तोष बराल र फैज़ल रहमान खान | टिमको प्रशिक्षणको जिम्मेवारी पूर्व राष्ट्रिय विकेटकीपर मनोज कटुवालले पाएका छन् |

त्यसैगरि सशस्त्रको टिम पनि खुंखार खेलाडीले भरिएको छ | राष्ट्रिय कप्तान पारस खड्काकै कप्तानीमा खेल्ने टिममा ज्ञानेन्द्र मल्ल, परेश लोहनी, शक्ति गौचन, शरद भेषावकर, बसन्त रेग्मी, अमृत भट्टराई, सन्जम रेग्मी, रोम श्रेष्ठ, सन्जय कुमार श्रेष्ठ, सुबास खकुरेल, सुनाम गौतम, पृथु बाँस्कोटा, रितेश सिङ र महबुब आलम जस्ता खेलाडीहरु छन् | 

विभागीय टिमहरुका साथ साथै दुइ नयाँ क्षत्रिय टिमहरुले पनि यो वर्षको प्रतियोगिताबाट प्रतिस्पर्धामा उत्रिने मौका प्राप्त गर्दैछन् | जनकपुर र पोखराको समावेशसंगै यसपालिको राष्ट्रिय क्रिकेट मेला ठूलो र आकर्षक हुँदै छ | नाम चलेका खेलाडीहरु विभागीय टिमहरुबाट खेल्ने हुनाले क्षत्रिय टिमहरुमा धेरै "प्रतिभा भएका तर मौका न पाएका" नयाँ अनुहारहरुले मौका पाएका छन् | आशा छ, नेपाली टिमले अझ राम्रा, जुझिला र जोसिला खेलाडीहरु पाओस्! अन्तराष्ट्रिय स्तरमै नेपालको नाम उकास्न यस्तै प्रयत्नहरुको आवश्यकता छ | 

यस्तो पनि Teaching?

अभिभावकहरुले आफ्ना सन्तानहरुलाई स्कूल पठाउछन् उनीहरुको उज्ज्वल भविष्यको लागि | तर जुन स्कूल र शिक्षकहरुको आशमा उहाँहरुले आफ्ना बालबालिकालाई सुम्पन्छन्, यदि तिनीहरुले नै उल्टो ज्ञान दिइरहेकाछन्  भने तपाइले के भन्नु होला ? मानौं, तपाइले आफ्नो छोरालाई १+१ कति हुन्छ भनेर सोध्नु भयो, तर जवाफ २ को साटो ३ वा ५ आयो भने के सोच्नु हुन्छ ? ल ठिक छ, ३ भनेपार करिब करिब मिलाएछ भनेर खुशी हुनुहोला, तर ५ त अत्ति भो होइन? तल दिइएको भिडियोमा त्यस्तै गलत पाठ एउटी शिक्षिकाले आफ्नो बिध्यार्थीहरुलाई  सिकाइरहेकी छिन् | हुन त यो घटना छिमेकी राष्ट्र भारतको हो, तर यसबाट हामीले सचेत हुनुपर्ने केही पाठ आफैंले पनि सिक्छौं  कि?  



यो भिडियो पहिलो चोटी हेर्दैहुनुहुन्छ भने एक पटक हाँसो लाग्नु स्वाभाविक नै हो | अब प्राइमरी स्कूलकी शिक्षिकाले Apple को साटो Apil, Sunday को साटो Sande र January लाई Januri भनेर पढायो भने हाँसो त लागि हाल्छ | तर अंग्रेजीको टीचर भनाउँदो हरुले जथाभावी गलत-सलत  त पढाउन हुन्न नि ? यिनीमात्र कहाँ हुन् र, भिडियोमा देखाइएको अर्को गुरुजीको पनि त्यही हालत छ ! Janyuary=January?? के चाहियो र गाँठे? आफुलाई जे आउँछ, त्यही पढाउने त हो नि ? चेला गुरुभन्दा बाठो पनि त हुन भएन!

यो तस्विर भारतको भए पनि यसको प्रतिबिम्ब हाम्रो देश नेपालमा पनि न देखिएला भनेर भन्न सकिन्न | नेपालको विकट ठाउँका बिद्यालयहरुमा गुरु भनाउँदा आफैंमा गुणस्तरहिन मान्छेहरुले भविष्यका कर्णधार बालबालिकाहरुलाई  यस्तै खाले शिक्षा दिदै होलान् | यदि यस्तो शिक्षण शैलीलाई रोकिएन भने आउँदो वर्षमा सबैले APIL फर एप्पल भनेर न पढ्ला भन्ने कुराको भर छैन |


संस्कृति थरि थरिका

संसारपनि अचम्म अचम्मको हुँदो रहिछ | जन्मदिन, सफलताको खुशियालीमा उत्सव मनाएको त देखेको थिए, तर मान्छे मर्दाको क्षणमा पनि दुख साट्नुको सट्टा रमाइलो गरिराखेको पहिलोचोटी देखे| यो अनौठो दृश्यचाँही यू.के. मा देख्नुपर्यो | हुन त आ-आफ्नो संस्कृति हो, यसरी अरुको संस्कृतिमाथि त लेख्न न हुने, तर हाम्रो देशमा न देखेको कुरा भन्न मन  गर्यो | प्लिज, अन्यथा न लिनु होला| 



कुरा हिजोको हो| जहाँ म काम गर्छु, त्यो होटलमा कसैको मृत्युको शोक कार्यक्रम भैराखेको थियो| करिब ७० जनाको खानपिनकोलागि विशेष तयारी पनि गरिएको थियो | हुन त शोक सभामा सामान्य खानपिनको सुविधा त नेपालमा पनि हुन्छ, तर रक्सीको बन्दोबस्त पनि गर्छन् र ? अपराह्नको ३ बजे शुरु भएको त्यो खानपिन दिउँसो ७ बजे पछि त रक्सी पार्टीनै भएछ | बाबा, कति पिउन सकेको? होटलको बारको सबै गिलासहरु नि सकिए, त्यसरी रक्सीको खोला बगेपछि | बारम्यान चाँही हैरान गिलास धुँदा धुँदा | अब रक्सी खाए पछि के याद रहोस्, कुन प्रयोजनमा खानपिन भैराखेको छ भनेर? दुख  हुनु पर्ने ठाउँमा खुशी थियो, शोक हुनु पर्ने ठाउँमा हर्षोल्लास थियो | उपस्थित मानिसहरु यसरी पार्टी गरिराखेको थिए, मानौं तिनीहरुले मर्ने मानिसलाई मरेकोमा Thanks दिईराखेका थिए | मृत्यु-शोकको क्षणमा बेलायतीहरुको यस्तो व्यवहारको मैले टिप्पणी के गरेको थिए, एक जना बेलायती साथी झर्किएर "यो हाम्रो संस्कृति हो" भनेर भन्न थाल्यो, अनि त्यसपछि म बोल्ने कुरै भएन | तर अचम्म, यो कस्तो संस्कृति? 

Nepali Cricket र म !!


क्रिकेटप्रति मेरो झुकाव त बच्चा-बच्चीदेखि कै नै हो | सानोछँदा आफ्नो दाजुसँग क्रिकेट खेलेको सम्झना त अहिले सम्म आउँछ | क्रिकेटको भूत हामी दुबैलाई नराम्ररी लागेको थियो, त्यसैले त घरको कोठादेखि लिएर आँगनको बगैंचासम्म, जहाँ सानो ठाउँ पायौं, हामी ब्याट र बल लिएर खेल्न तयार हुन्थ्यौं | झ्यालमा फलामे ग्रिल हुनाले शिसा त फुटाल्न  पाएनौ, तर बगैंचाको फूल-बिरुवाको शत्यानास गरेपछि आमाको हातको कुटाइ भने धेरै चोटी खायौं | तर यो मनले कहाँ मान्थ्यो र, आखिर सपना त सचिन तेन्दुलकर बन्नु थियो हाम्रो|



समय र परिस्थितिको बाटोमा हिड्दा-हिड्दै मेरो क्रिकेटर बन्ने सपना भने त्यसै तुह्हियो| पढाइमा राम्रो म डाक्टर ईन्जिनियर बन्ने सपना बुन्न थाले, तर मेरो दाजुले चाहिँ ब्याट र बलको साथ छोड्नु भएन | उँहाले काठमाडौँमा होटेल व्यवसाय गर्नुको साथसाथै आफ्नो क्रिकेटप्रतिको लगावलाई पनि  निरन्तरता दिनु भयो| धेरै साथीहरुले आफ्नो घरायसी समस्याहरुको कारण क्रिकेटको साथ छोडे, तर मेरो दाइले कुनै हालतमा क्रिकेटलाइ आफ्नो मन-मस्तिष्कबाट निकाल्नु भएन | तर अफसोस, एउटा राम्रो खेलाडी हुँदा हुँदै पनि राष्ट्रिय टिमबाट खेल्ने सपना अझैं पूरा भएको छैन | आज काठमाडौँको लागि क्षेत्रीय एकदिवसीय क्रिकेट टिममा दाइको छनौट भएको देखेर म औंधी खुशी छु | हुन त पछिल्लो वर्ष पनि छनौट न भएको होइन, तर अहिले आएर दाइले आफूलाई उदयमान खेलाडीहरुको बिचमा उभ्याइसकेका छन् र मलाइ आशा छ, यसपाली उँहाको प्रदशन सर्वोत्तम हुने छ | म मेरो दाइ सुमन उदयको उज्जवल भविष्यको कामना गर्छु |

क्रिकेटको साथ मैले पनि चटक्क छोडेको छैन | अन्तराष्ट्रिय क्रिकेटसम्बन्धी आफ्नो ब्लग "कस्मिक क्रिकेट" को माध्यमबाट अहिले पनि म आफ्नो क्रिकेट प्रेमलाई जीवन्त राख्न  सफल भएको छु | 


Lex Limbuलाई चिनौं !!

मैले मेरो अर्को ब्लग Yummylife Tv मा You Tube मार्फत चर्चा कमाउने व्यक्तित्वहरुको बारेमा लेख्दै आएको छु | तर यो ब्लग मा भने त्यस्तै नाम कमाउने नेपाली You Tuber को बारेमा लेख्ने छु | तपाइँमध्ये धेरैको लागि यो नाम नौलो नहुन सक्छ | You Tube मा रम्ने नेपालीहरुबीच आफ्नो छुट्टै पहिचान बनाउने  शौजन्य लिम्बु अर्थात लेक्स लिम्बु (Lex Limbu) को बारेमा म कुराकानी गर्दै छु | 

अझै किशोर जीवन नै बिताइ राखेका लेक्स बेलायतमा बसोबास गरेपनि नेपाल र नेपालीपनसँग  धेरै नै नजिक छन् | त्यसैले त उनको हरेक भिडियोहरुमा नेपालसँग जोडिएका प्रशंगहरु बारे कुरा उठाइएको हुन्छ | लेक्सले आफ्नो उमेरका तन्नेरीहरुलाई नेपालीपनको सम्मान गर्न संदेश दिन्छन् | लेक्सको नेपाली चलचित्रप्रति हालशालै बढेको चासोले पनि कति युवापुस्ताहरुमा  नेपाली चलचित्र हेर्नु पर्छ भन्ने जागरुकता फैलिएको छ | लेक्सले नेपाली चलचित्रको प्रचार-प्रसारमा गरेको कामले उनलाई झरना बर्ज्रचार्य र आलोक लिम्बुजस्ता नेपाली रंगकर्मीहरुको नजिक पुर्याएको छ | 

लेक्सको सामाजिक योगदानहरुको बारेमा पनि उल्लेख गर्नु जरुरी छ | केहि दिनअघि  शिकिस्त कुमार कान्छाको उपचार सहयोगकोलागि बेलायतबाट लागिपर्ने व्यक्तिहरुमध्ये लेक्सको नाम सबैभन्दा अगाडी आउँछ | लेक्सले आफ्नो You Tube च्यानल र व्यक्तिगत ब्लगमार्फत गरेको सामाजिक योगदानको आह्वानलाई संसारभरिका नेपालीहरुले सकारात्मक रुपमा लिएका थिए | लेक्सले जम्मा गरेका ती ८०० पाउण्ड कुमार कान्छाको जीवन बचाउन सफल न भए पनि लेक्सको भावनाको सबैले कदर गर्नु नै  पर्छ |

लेक्स लिम्बुलाई  तपाइहरुले  Lex Limbu  च्यानल र lexlimbu.com नामक ब्लगमा भेट्न सक्नु हुनेछ |

तल लेक्स लिम्बुको एउटा भिडियो प्रसारित गर्दैछु ! 


 
नेपाली पन © 2010 | Designed by Trucks, in collaboration with MW3, Broadway Tickets, and Distubed Tour